रामकृष्णअनायासको `उनी गएपछि´ कविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 22, 2020

रामकृष्णअनायासको `उनी गएपछि´ कविता

उनी गएपछि  (कविता)
- रामकृष्ण अनायास

आज पनि उत्तिकै सम्झिरहेको छु
उनी गएपछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौँ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरू

टुटेन कहिल्यै विश्वासका ताराहरू
हामीले छोएको त्यो नदीको पानी
कैयौँ संसार घुम्यो होला
त्योभन्दा बढी घुमेको
तिम्रो स्मृति, मेरो आँखामा
आज पनि उत्ति नै साक्षी छन्
म नगएको कुनै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमी र म भाँडाकुटी खेल्दा
सपनाहरू बुनेका थियौँ
अनि कति पटक त तिम्रो सिउँदो
बालुवाले भोरेको थिएँ
हो त्यही बगर साक्षी छ
सोध नदीसँग
जहाँ मेरा आँसुहरू मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिरसँगै सोध्थ्यौ
‘के हामी पनि मायालाई यसै गरी
सागर सम्म पुर्‍याउन सक्छौँ´ ?
आज सपनाजस्तै लाग्छ होला तिमीलाई
जब क्षितिजमा घामहरू डुब्दै जान्थे
आकाशबाट जून अनि ताराले जिस्क्याउँथ्यो
अनि हामीभित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनीभित्र रहेका हिमाल पहाड
झरना, छाँगा र छहरासँग
मस्त खेलिरहन्थे
साक्षी छ त्यही रात जुन रात हामी मातिएका थियौँ
पोखिएका थियौँ
आज त्यस्ता कैयौ रातहरू
एक्लै, एक्लै मारिसकेँ
हामीले छोएको नदी सागर बनिसक्दा पनि
जूनले कैयौँ रात पर्खिंदा पनि
त्यही घाम उदाउने
क्षितिजमा बुढो
रुखजस्तै भई
जहाँबाट बिलाएकी थिइन्
त्यहीँ उनको प्रतीक्षामा
बसिरहेको छु । 

कविडाँडा,चितवन

No comments:

Post a Comment