घुमाउने घर बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 22, 2020

घुमाउने घर बालकविता

घुमाउने घर
रमेशचन्द्र घिमिरे 
               

कता गए झिँगटी कता गए खर ?
कता गए पुराना घुमाउने घर ?


ढुङ्गा फोर्ने कर्मी दाइ थिए असल
माटो मुछी त्यसैमा भर्थे मसला 
त्यतिखेर कहाँ पाउनु सिमन्टी र छड ?
माटोबाटै बनाउँथे घुमाउने घर !

टुँडाटुँडी बिग्रियो कि गम्थे हेरेर
मिलाएर गारो लाउँथे रिङ्गै घेरेर
ढोका लगाई सुतेपछि भाग्थ्यो आफै डर
चोरलाई पनि छिर्न गाह्रो घुमाउने घर !

खर्च गरी बना’को दलान थिएन
सिमन्टीले ओच्छ्या’को ढलान थिएन
आँखी बुट्टे झ्यालका स्याना स्याना चर्
चिटिक्कको साँघुरो घुमाउने घर !

यै घरलाई स्याहारे बाजे–बज्यैले
हाँसी खुसी रमाए बसे मजैले
नभत्काउनू भनेर नाति गर्छ कर
हजुर बाले बना’को घुमाउने घर !

नयाँ घर नबनाई थोत्रा घर राखे
भने होलान् दुनियाँले हामीलाई पाखे
तर बालाई यै घरमा बस्ने कत्रो रहर ?
आफ्नै बाले बना’को घुमाउने घर !

यहीँ बसी रमाई मामा जानु भो
भिनाजुले मोबाइलमा फोटो लानु भो
अर्को तीजमा यै घरमा खान्छौँ आमा दर
दिदीलाई नि प्यारो लाग्यो घुमाउने घर !
                २०७५।०६।१२
https://www.saranginews.com/kala-sahitya/2480

No comments:

Post a Comment