असिना (बालकविता)


असिना (बालकविता)

               - रमेशचन्द्र घिमिरे

डल्ला-डल्ला सेता-सेता
ठूला अनि मसिना
आकाशबाट आँगनीमा
बर्से हेर असिना

नूनको स्वाद छैन तर
हेर्दा नूनको डल्लो
मिठाई भनी खान खोज्दा
लाग्यो खल्लो-खल्लो

कपूर ठानी सुँघ्न खोजूँ
बास्ना आउँदैन
सेतो थियो पग्लिएर
सेतो पनि छैन

पानी नै हो हातमा राख्दा
ठ्याक्क अटाउँछ
पानी नै हो दुख्ने गरी
साह्रै ठटाउँछ

बादलभित्रै अड्किएको
हुन्छ अति राम्रो
भो-भो नझर् तँलाई ल्याउने
विचार छैन हाम्रो

हिउँको डल्लो पग्ली अहिले
निस्कँदैछ पसिना
पानी जमी बन्छ भन्छन्
यै त हो नि असिना ।
            -भोर्लेटार, लमजुङ
             तस्बिर : रामकृष्ण अनायास

Post a Comment

0 Comments