ठेकी कस्तो छ ? (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

May 12, 2020

ठेकी कस्तो छ ? (बालकविता)

ठेकी कस्तो छ ?   

रमेशचन्द्र घिमिरे
भन-भन गायत्री ठेकी कस्तो छ ?
गायत्रीले भनिन् ठेकी गाग्रीजस्तो छ

'कराईमा बचेको दूध खन्याउँला
दही मथी यसैमा घिउ बनाउँला'

बाले यही सोचले ठेकी ल्याउनु भो
मामा पनि सँगसँगै साथी आउनु भो

भन-भन दले दाइ ठेकी कस्तो छ ?
दाइले भने भुँड्काको दाइजस्तो छ

त्यान्द्रा खोजी परालको लुँडा पारेर
ठेकी माझ्यो भाइले घुँडा मारेर
सफा भयो, टल्कियो, ठेकी चम्कियो
चम्किएको देखेर भाइ गम्कियो

भन-भन भोले भाइ ठेकी कस्तो छ ?
भाइले भन्यो रोचाको भाइजस्तो छ

पानी थपी दहीमा राखी मदानी
घार्रघुर्र पार्छु म जानी नजानी
पोरा डुब्यो डुबेन हेर्छु अब म
मदानीलाई नेतीले बेर्छु अब म

भन सैनी सुनिता ठेकी कस्तो छ ?
सैनी भन्छिन् घैँटाको सैनीजस्तो छ

बाको काखमा बसेर नेती समाएँ
दही मथ्न पाएर साह्रै रमाएँ
तैरिएको नौनीलाई डल्लो पारियो
अनि बल्ल अङ्खोरामा मही सारियो

सोध्नुभयो आमाले ठेकी कस्तो छ ?
मैले भनेँ यो ठेकी ठेकीजस्तो छ ।

   - भोर्लेटार, लमजुङ  (२०७७/०१/३०)

तस्बिर तथा लिङ्क : परिचय नेटवर्क, पोखरा 
https://www.parichaynetwork.com/kabita-2/

No comments:

Post a Comment