दसैं (बाल कविता )

गङ्गा कर्माचार्य पौडे

  दसैं  (बाल कविता )       

आहा फेरि आयो दसैं रमाइलो गर्ने हो

टिका लाउन मामाघर वालिङ् बजार जाने हो

हजुरबाले रातो टीका लगाइदिनु हुन्छ


हजुरमाले कुराउनी खान दिनुहुन्छ

मामा पनि अमेरिकाबाट आउनु हुन्छ रे

मेरोलागि नाना चाचा किनिदिनु भाछ रे

चहै चचहै पिङ मच्चाई खेल्ने हो

काली गण्डकीमा गई स्टीमर चढ्ने हो

रामु गीता सीता सँग गोठालो नि जान्छु

छङ्छङ् गर्ने छाङ्छाङ्दीको झरनामा नुहाउँछु

हेर्नुपर्छ शिरुवारीबाट हिमाल झलल

तल बगिरहने सङ्लो आँधिओला सलल

सिद्धार्थ त्यो राजमार्ग नागबेली परेको

आकाशदेखि सेतो सेतो भुइँ कुहिरो झरेको

हरियाली बनपाखा स्वच्छ हावा सररर

स्वर्ग जस्तो लाग्छ मलाई मेरो मामा घर

आहा फेरि आयो दसैं रमाइलो गर्ने हो

टिका लाउन मामाघर वालिङ बजार जाने हो ।


Post a Comment

0 Comments