बालकविताः हजुरबाको साथी

 

हजुरबाको साथी (बालकविता)

          - रमेशचन्द्र घिमिरे

बुढो हुँदै गएछु कि खोज्छु मेरो साथी

बुढेसकालको साथी को हो भन्देऊ मेरा नाति

 

हजुरबालाई मन पर्ने रामायण र गीता

पढ्दाखेरि चाहिने चस्मा त्यही होला कि त

भगवानलाई चढाउने फूल अनि पाती

हुन सक्छ हजुरबाको बुढेसकालको साथी

 

छाता ओढी हिँड्नु हुन्छ घामपानीलाई छेकी

हिँड्न मन पर्छ अरे लौरी टेकी टेकी

हजुरबालाई जे जे राम्रो प्यारो लाग्छ जाती

आखिर त्यही हुनुपर्छ हजुरबाको साथी

 

पर्ख पर्ख एकछिन पर्ख एकछिन पर्ख ल है

हजुरबाले भन्नुभयो बोल्छु अब म है

जसलाई कथा सुनाउँछु बिहान दिउँसो राति

त्यही त हो नि बुढेसकालको नाति मेरो साथी।

***********

भोर्लेटार, लमजुङ


Post a Comment

0 Comments