वनको बाटो गुडुल्क्याउँदै पहिराले ल्यायो पहिराले ल्याएपछि खोलैखोला आयो
सुस्त सुस्त पाइला चाल्दै कहिले छिटो कुद्दै पानी चालमा सँगै-सँगै बिस्तार बिस्तार गुड्दै घोटिएर, घिस्रिएर पल्टाबाजी खायो पल्टाबाजी खाएपछि खोलाछेउ आयो
लाम्चो-लाम्चो गोलो ढुङ्गोदेखी बगरमा कर्मी दाइ आउँदा-आउँदै पर्यो नजरमा त्यही ढुङ्गा लोहोरो बन्यो जब छिनो लायो छिनो लाइसकेपछि अनि गाउँमा आयो
बाले मन पराउनुभो जब देख्नुभयो सिलौटालाई साथी बन्न सुहाउने छ यो कर्मी दाइले बेचेपछि बाको साथ पायो बाको साथ पाएपछि हाम्रो घरमा आयो
सिलौटालाई थाहा भयो भन्यो,`आऊ साथी बास बस्न पाउँछौ तिमी मेरै छातीमाथि´ यै खुसीमा लोहोराले मिठो गीत गायो मिठो गीत गाएपछि दैलाभित्र आयो
लोहोराले सिलौटाको साथ पायो जब अदुवा र लसुन पिन्न सजिलो भो अब लोहोराको मनमा बल्ल खुसियाली छायो खुसियाली छाएपछि भान्छाघरमा आयो । ----- २०७९/०९/२३ भोर्लेटार, लमजुङ
0 Comments