गीतिकविता डल्ला फोर्दै जाऔँ - रचना चौतारी

Breaking

Powered By Blogger

April 06, 2020

गीतिकविता डल्ला फोर्दै जाऔँ

गीतिकविता  डल्ला फोर्दै जाऔँ

             रमेशचन्द्र घिमिरे


कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ

स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न
साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न
सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ
यो देशलाई जोगाउने वीर हुनुपर्छ

आकाश छुन धौलागिरी अझ अग्लो हुन्छ
हिउँ पग्ली पहाड र तराईलाई धुन्छ
हिमाल, पहाड, तराईलाई एकै ठाउँमा घोलौँ
जब यौटा होस्टे भन्छ अरु हैँसे बोलौँ

पाखुरीमा हिम्मत र आँट जुटाएर
हत्केलामा डाँडाकाँडा पहाड उठाएर
नेपालको माटोलाई जोगाएर राखौँ
अन्तै जाला गौरव हाम्रो सम्हालेर राखौँ

मेची, कोसी, गण्डकीलाई अँगालोले छोपी
यो पानीले यै देशको टारी, खेत रोपी
कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ ।


                   भोर्लेटार, लमजुङ







No comments:

Post a Comment