घरैभित्र बसौँ - रचना चौतारी

Breaking

Powered By Blogger

April 17, 2020

घरैभित्र बसौँ


घरैभित्र बसौँ          

- रमेशचन्द्र घिमिरे 

आफ्नै घरमा एक्लै बस्यो एक्लै पढ्यो खायो
मेरो घरमा नआऊ भन्ने कस्तो दिन आयो

कुन घरमा को बस्दै छन् नाम ठेगाना सोद्धै
आफै आउन्न कोरोना त्यो हामीलाई खोज्दै
टेलिभिजन त्यै भन्दैछ, रेडियो त्यै भन्छ
त्यही भएर मलाई पनि घरै बस्न मन छ

जे छोए नि रोग सर्न सक्छ भन्ने सुन्छु
कतै गई आउँदाखेरि पहिला हात धुन्छु
तर्किँदै म साथीसँग भन्छु ‘के छ यार ?’
हात मिलाउन छोडिसकेँ गर्छु नमस्कार

लुखुरलुखुर् किन हिँड्नु जता पायो त्यता
डुले पनि बजार बन्द के पाइन्छ र कता ?
तिमी तिम्रै घरमा बस म नि यतै बस्छु
कैले बैठक कोठा छिर्छु कैले भान्छा पस्छु

करेसामा काम गरी बालाई सघाउँछु
आमासँग सिक्छु अनि भात पकाउँछु
रमाइला किताब पढ्न बाँकी थियोे पैले
तिनै किताब खोजी–खोजी पढ्दै छु म ऐले

कथा लेख्छु, चित्र कोर्छु, नाच्छु, गीत गाउँछु
बन्द खुलेपछि मात्रै तिम्रो घरमा आउँछु
लौ त साथी के भनूँ र जे पायो त्यो नखाऔँ
आफ्नै घरमा बसौँ अनि अन्त कतै नजाऔँ ।

       - मध्यनेपाल नगरपालिका - ६             भोर्लेटार, लमजुङ      (२०७७/०१/०६)             

No comments:

Post a Comment