लघुकथा मौलिक सिर्जना - रचना चौतारी

Breaking

Powered By Blogger

April 18, 2020

लघुकथा मौलिक सिर्जना

मौलिक सिर्जना  (लघुकथा)          

रमेशचन्द्र घिमिरे
धेरै दिनको मेहनतपश्चात् उसले एउटा रचना तयार पार्‍यो । लेख्नुअघि मनले खाएका गुरुलाई सुझावका लागि बुझायो । गुरुले `सबै ठीक छ, तर ...´ भन्दै नयाँ नियम पढेर वर्णविन्यास सच्याउनुपर्ने सल्लाहसहित रातो मसीले सङ्केत गरिदिए । 
~ उसले वर्णविन्यासका आधुनिक नियम पढेर सच्यायो ।
---  --- ---
• `तै एकचोटि विज्ञलाई त देखाऊँ´ । विज्ञसँग पनि सुझाव माग्यो । विज्ञले नाक खुम्च्याउँदै `हल्का भएको´ आरोप तेसारे । 
~ उसले गरुङ्गो बनाउन खोज्यो ।
---  --- --- 
• `फिक्सन´ नै नभएपछि कसरी पढ्न मजा हुन्छ हो तपाईंको रचनामा ?´ अर्का विज्ञले खिस्याउँदै आफ्नो विद्वता ओकले । 
~ उसले जबर्जस्ती कथा कोचार्‍यो ।
---  --- ----
• `केटाकेटी पाराले लेख्नुहुँदो रहेछ ।´ एकथरिले उल्लीबिल्ली बनाए । 
~ उसले ठूलाबडाले रुचाउने खालको परिपक्व बनाउन खोज्यो ।
---  --- --- --- --- 
• `कसैले `मूर्त भयो´ भनेर खिस्याए । `यसरी सजिलै बुझिने पनि साहित्य हुन्छ ?´ भनेर होच्याए । 
~ उसले सकेसम्म नबुझिने बनाउनु पर्ने रहेछ भन्ने सोचेर त्यसै गर्‍यो ।
---  --- --- --- --- 
• `शब्दचयन फितलो भयो´ । अर्का विज्ञले निधारै मुजा पर्ने गरेर आँखा तर्दै पातो हुर्‍याइदिए ।
 ~ उसले शब्दकोशको सहायताले जटिल तत्सम शब्द राखेर मिलायो ।
---  --- --- --- 
• `व्याकरणिक त्रुटि भयो ।´ `भाषिकाको प्रयोग गरेर तपाईंले मात्रै बुझ्ने हो र ?´ आफूलाई भाषाविज्ञानका ज्ञाता ठान्नेहरूले भाषिक दोष अौँल्याउँदै थर्काए । 
~ उसले मानक भाषालाई नै जोड दिएर सोहीबमोजिम लेख्यो ।
---  --- --- ---
• कसैले उसको रचनामा `जातीय आक्षेप देखिएको´, `लैङ्गिक पक्षपातको गन्ध आएको´,  `अपाङ्ग मैत्री हुन नसकेको´ जस्तो कमजोरी देखाइदिए । कतिले `लोकतन्त्रको मर्मअनुरूप नभएको´ भन्दै कानुनी कुरा गरे । 
~ उसले `हस्´ भन्दै सकेसम्म लोकतान्त्रिक र कानुनसम्मत बनाउने उपाय खोज्यो ।
---  --- --- --- ---
* तर कसैले पनि ठीकै छ, राम्रै लेख्यौ भनेर हौसला दिनु आफ्नो धर्म ठानेनन् ।
---  --- --- --- --- 
# `सबैले भनेको मान्दै जाने हो भने मैले त नलेखे पनि हुने रहेछ´ भनेर ऊ एकैछिन त खङ्ग्र्याङ-खुङ्ग्रुङ्गै भयो अनि काँटछाँट गरिसकेपछि तयार भएको आफ्नो रचना पुनः पढ्यो । किन-किन उसले यो रचनामा  कत्ति पनि मिठास भेटेन । नयाँ रचना उसलाई गाईजात्रे लाग्यो, खिचडी जस्तो लाग्यो । सामान्य पाठकले कस्तो प्रतिक्रिया दिँदा रहेछन् भन्ने सोचेर उसले आफूले सुरुमा जे लेखेको थियो त्यही रचना नै जस्ताको तस्तै पत्रिकामा छाप्न पठायो ।
---  --- --- --- --- --- 
       - भोर्लेटार, लमजुङ 
      (२०७७/०१/०६)

No comments:

Post a Comment