दीपक लोहनीको लघुकथा `जिज्ञासा´ - रचना चौतारी

Breaking

Powered By Blogger

April 22, 2020

दीपक लोहनीको लघुकथा `जिज्ञासा´

लघुकथा : जिज्ञासा
दीपक लोहनी

पाँच वर्षिया छोरोले बालाई सोध्यो- 
"बा, आकाश खस्यो भने के हुन्छ ?"
राहत नपाएर रित्तै फर्किएको बाले केही बोलेनन् । उदासीको एकमुठी सुस्केरा खुइइइ ..य छोडे मात्र ।


उसले फेरि आमालाई सोध्यो -
"आमा, आकाश खस्यो भने के हुन्छ ?"
ग्याँस सकिएर  रन्थनिएकी आमाले पनि केही बोलिनन् । फरियाको सप्कोले टिल्पिलाएको आँसु पुछिन् मात्र ।

उसको मनमा जिज्ञास मेटिएको थिएन । तर बा/आमा नबोलेकोले एकछिन चुप भयो । आकाश हेर्‍यो । पानी पर्न नसकेर  गड्याङ गुडुङ गर्दै मेघ गर्जिरहेको थियो । बाटोमा पुलिसहरू लौरो बजार्दै हिडिरहेका थिए । 
कतै पर - "महामारीबाट बच्न घरबाट ननिस्कनुहोस् ।" भन्दै स्पीकर घन्किरहेको थियो ।

उध्रिएको  गन्जीले  ढाकिएको शरीरलाई ढोकाबाट बाहिर निकाल्दै उसले  पुलुक्क आकाश हेर्यो । खुट्टाहरू चप्पलविहीन थिए । कट्टु लगाएको थिएन - तुन्तुरो पुरै देखिएको थियो ।

उसले कोठामा पस्यो र फेरि बा/आमालाई सोध्यो - 
"आकाश खसे के हुन्छ ?"
"हामी सबै मर्छौ ।" यसपटक बल्ल आमा बोलिन् ।

"यसरी भोक भोकै मर्नु भन्दा त आकाश खसेकै जाती ।" उसले प्वाक्क बोल्यो र आकाश हेर्न कोठाबाहिर निस्कियो ।
     - मनमैजुु, काठमाडौं 

No comments:

Post a Comment