होली खेल्न मन् छैन ... बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

होली खेल्न मन् छैन ... बालकविता

होली खेल्न मन् छैन ... (बालकविता)

          - रमेशचन्द्र घिमिरे

भैगो रातो दल्दिनँ तिम्रो गालामा
होली खेल्न मन् छैन अहिले सालमा


फुटालेर बेलुनका लोली मजाले
पोहोर साल खेलियो होली मजाले
कोरोनाले दुनियाँ पार्‍यो जालमा
होली खेल्न मन् छैन अहिले सालमा

यै बेलामा जाँच छ पढ्नु पर्ने छ
कोरोनाको विरुद्ध लड्नु पर्ने छ
थन्क्याएर पिच्कारी राख्छु डालामा
होली खेल्न मन् छैन अहिले सालमा

चिसोबाट जोगिने बेला आ´को छ
कोरोनाले छुन्छ कि डर ला´को छ
तातो पानी पिउने हो राखी थालमा
होली खेल्न मन् छैन अहिले सालमा

साबुनले सर्लक्क हात धुने हो
हुनुहुन्न फोहोरी सफा हुने हो
अबिर पोको पारेर राख्छु टालामा
होली खेल्न मन् छैन अहिले सालमा

रुमालले मुख् छोपी खोक्नु पर्छ रे !
हात् मिलाउने अब काम रोक्नु पर्छ रे !
टाँसिएर कोरोना सर्छ छालामा
होली खेल्न मन् छैन अहिले सालमा

सताउँछ कि भनेर खोकी रुघाले
जोगिनु छ न्यानो र बाक्लो लुगाले
बाहिर कतै निस्किन्नँ बस्छु झ्यालमा
होली खेल्न मन् छैन अहिले सालमा
      - भोर्लेटार, लमजुङ
     (२०७६/११/२३)