बेलघारीको बेल

 बेलघारीको बेल (बालकविता) 

     - रमेशचन्द्र घिमिरे

घन्टी लाग्थ्यो अनि खेल्थ्यौँ 

खेलछुट्टीमा खेल

खेलेपछि टिप्न गइन्थ्यो  

बेलघारीको बेल


फुटालेर चोप निस्कन्थ्यो 

बाक्लो बाक्लो तेल

किताब टाँस्न मिल्थ्यो त्यही 

बेलघारीको बेल


साथीभाइ खेल्ने गर्थ्यौँ  

हुँदैनथ्यो झेल

हामीले खेल्ने भकुण्डो थ्यो 

बेलघारीको बेल


पेट दुख्दा दबाई नखाई 

बसूँ कतिन्जेल

ओखतीकै काम गर्छ रे 

बेलघारीको बेल


तिमी खाए खाऊ खाजा

तर्कारी र सेल 

प्याच्च फोरी खान्छु म यै

बेलघारीको बेल ।

     - भोर्लेटार, लमजुङ 

(२०७७/०५/०८)

Post a Comment

0 Comments