बालकविता : घुमाउँछु जाँतो


 रमेशचन्द्र घिमिरे


घुमाउँछु जाँतो (बालकविता)

उचाली पलेटो झार्छु धुलोमाटो
समातेर हातो  घुमाउँछु जाँतो

मकैसँग भट्ट मिसाएर चट्ट
पिनेपछि अब बन्छ सातु झट्ट
खान्छु यही सातु चिया ल्याउनू तातो
समातेर हातो  घुमाउँछु जाँतो

मियोजस्तै मानी बिचमा बसी नानी
राख्न नपाउँदै खाइहाल्ने बानी
लाउँछु अझै बल दुखे दुखोस् पातो
समातेर हातो घुमाउँछु जाँतो
 
आँ-आँ गरी खान्छ चारैतिर फाल्छ
अनि मेरो भाइ रमाउन थाल्छ
एकछिन यता नआऊ जाला भाइ सातो
समातेर हातो घुमाउँछु जाँतो
 
मुठी दरो पार्छु थकाई पछि मार्छु
अड्किएको पिठो कुचो लिई झार्छु
ठेला उठी हात भए पनि रातो
समातेर हातो घुमाउँछु जाँतो ।

   भोर्लेटार, लमजुङ


Post a Comment

0 Comments