मदन दुलालकाे कविता सुखी को...? - रचना चौतारी

Breaking

Powered By Blogger

April 25, 2020

मदन दुलालकाे कविता सुखी को...?

सुखी को...? (कविता)


मदन दुलाल
फिलादेलफिया,पेन्सिलभेनिया
अमेरिका

अनन्त अन्धकारको गर्तमा
केही थान धोद्रा स्वर
साउती गर्छन्
सुखी को...?


साउती नम्बर १:-

सुखी को हो  ?
उज्यालो ताज पहिरेर माथि आकाशमा
प्रज्वलित हुँदै गरेको जून ?
या
चुपचाप आफ्नो कक्ष परिक्रमा गर्दै गरेको सूर्य ?
कि
शान्त आकाश गङ्गा ?

साउती नम्बर २:-

सुखी को हो?
श्वेत जुहार पहिरिएर
नीलो आकाशको अधर चुम्न पाएका
धर्तीका वक्षस्थल ?
या
विशाल परिधिमा एक तमासले
जल प्रवाहको सङ्गीतमा मुग्ध अनन्त महासागर ?
कि
उष्णताको प्रखर ताड्ना बिच
फुलेको महा-मरू ?

साउती नम्बर ३:-

सु-साशनको छाती टेकेर
हुँकार गर्ने धृतराष्ट्र समय ?
या
चित्कारको दुन्दुभीबिच
फुलेको मुर्दाशान्ति ?
कि
बबण्डर बिचोबिच
प्रकाशीत मधुरो प्रकाश ?

साउती नम्बर ४:-

सुखी को हो ?
कर्तव्यको अगम पहाड
चडाँई गर्ने बलिष्ठ बाहु ?
या
वात्सल्यताको बिशाल परिधिमा
संसार रूलाउने काख ?
कि
वैराग्यको वीर्य
उत्सर्जन गर्ने बन्जड पहाड?

साउती नम्बर ५:-

 सुखी को हो ?
यौवनले परिपूर्ण भएकै बेला
बोटमा फुली पाउमा मर्ने फूल
या
सुन्दर भैकन पनि अभिशप्त जिन्दगी जिउने पलाँस
कि
बिहानीको सुरम्यतामा रम्न नपाउने
पारिजात ?
हे अनन्तता !
के
दु:खी नहुनु
सुखी हुनु हैन र ? 

No comments:

Post a Comment