पाङ्ग्रे मिसिन (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 21, 2020

पाङ्ग्रे मिसिन (बालकविता)

पाङ्ग्रे मिसिन    

             © रमेशचन्द्र घिमिरे 

हलो पनि चाहिएन, हली पनि चाहिएन
गोरु नभई हुन्थेन, खोज्नपट्टि लाइएन
केलाई टन्टो बेसाउने हाई सन्चो भा´को छ
खेत जोत्न भनेर पाङ्ग्रे मिसिन अा´को छ

बाक्लो कुँडो, ढुटो र पिठो ख्वाउन नपर्ने
खोजी खोजी घाँस यल्लाई मीठो ख्वाउन नपर्ने 
कत्रो बल अाएको पानी मात्रै खा´को छ 
खेत जोत्न भनेर पाङ्ग्रे मिसिन अा´को छ

ट्याक्टर हाँक्ने डाइबरले नाङ्ले बिँड समाए
आमा दङ्ग पर्नुभो, भाइबैनी रमाए
गुटुटुटु कराउने चर्को चर्को डाँको छ
खेत जोत्न भनेर पाङ्ग्रे मिसिन अा´को छ

हल्लुँडो र हरिस अनि ठेडी, अनौ चाहिँदैन
अब फाली करुवा खोज्दा पनि पाइँदैन
तर मान्छे मक्ख छ नयाँ जिनिस पा´को छ
खेत जोत्न भनेर पाङ्ग्रे मिसिन अा´को छ

भुइँमा दारा कोतर्दै घ्यार्र गर्दै करायो 
जुवा, नारा, जोतारा, सोइला, पाटी हरायो
हजुर बालाई भित्रभित्रै दिक्क पनि ला´क‍ो छ
खेत जोत्न भनेर पाङ्ग्रे मिसिन अा´को छ ।

         - भोर्लेटार, लमजुङ (२०७६/०१/१४)


No comments:

Post a Comment